सिरहामा आमासहित बालकको शव फेला, अर्का बालकको अवस्था गम्भीर

सिरहाः सिरहाको लहान नगरपालिका १ मटियर्वामा एक महिला र बालक मृत अवस्थामा फेला परेका छन् ।
लहान नगरपालिका १२ भोटियाटोलकी २३ वर्षीया रञ्जिता चौधरी र उनका पाँच वर्षीय छोरा एरोज चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
रञ्जिताका अर्का नौ महिनाका छोरा अचेत अवस्थामा फेला परेका छन् । हाल उनको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्याको आशंका गरिएको छ । शवको अवस्था हेर्दा आमाले पहिले बच्चाहरूलाई विष खुवाएको र पछि आफैँ झुन्डिएर आत्महत्या गरेको हुनसक्ने डीएसपी राईले जानकारी दिए ।
स्थानीयहरूले झ्यालबाट झुन्डिएको अवस्थामा रञ्जितालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार रञ्जिताका श्रीमान् प्रवीण चौधरी तीन–चार दिनदेखि डेरामा आएका थिएनन् र हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन् । प्रवीण लहान बजारमा ज्याला मजदुरी गर्ने बताइएको छ ।
प्रहरीले मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइसकेको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ ।