मधेशको राजनीतिक समीकरण फेरियो, कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश


eShilalekh

२२ आश्विन २०८२, बुधबार १८:३५

जनकपुरधाम: मधेश प्रदेशमा राजनीतिक समीकरण फेरिएको छ। नेकपा एमालेले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि दाबी पेश गरेको छ।

एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार बनाउन दाबी पेश गरेका हुन्।

तीन दलले बहुमत सांसदको समर्थन सहितको हस्ताक्षरबन्दी दाबी बुधबार प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरिएको हो।

यसअघि नेकपा एमालेले मुख्यमन्त्री सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई पनि फिर्ता बोलाएको थियो। नयाँ सरकारको दाबीमा एमालेका २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ।

मुख्यमन्त्री सिंहले राजीनामा नदिएपछि नयाँ राजनीतिक गठबन्धनले वैकल्पिक सरकारको दाबी अघि सारेको हो। प्रदेश प्रमुखको निर्णयपछि मधेशमा नयाँ सरकारको बाटो खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्