मधेश प्रदेशमा नयाँ सरकार गठनको आह्वान

जनकपुरधाम: मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।
मुख्यमन्त्री सतिषकुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि पहल सुरु गरेकी हुन्।
प्रदेश प्रमुख कार्यालयका अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यले असोज २९ गते बेलुका ४ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न सक्नेछन्।
१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ । मधेश प्रदेश सभामा नेकपा एमालेको २५, नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ती पार्टीको एक-एक गरी १०७ जना सदस्य छन् ।