बारामा ५० हजार मूल्य बराबरको अबैध पटाका बरामद

सिमराः बारा प्रहरीले बुधबार राती ५० हजार मूल्य बराबरको अबैध पटाका नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी बरियारपुरबाट प्रहरी बरिष्ठ नायब निरिक्षक सिकिन्द्र साहको नेतृत्वमा खटिएको प्रहरी टोलिले सिम्रौनगढबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३१२९ नम्बरको यात्रुबाहक बस रोकेर जाँच गरेको थियो ।
उक्त बस जाँच गर्ने क्रममा बसको डिकीमा राखिएको सुटकेसभित्र १६ बन्डल प्रतिबन्धित पटाका फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय राज पण्डितका अनुसार बरामद पटाकाको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको छ ।
प्रतिबन्धित पटाकासहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।