रौतहट र सिरहामा डुबेर चार जनाको मृत्यु

सिमरा: मधेश प्रदेशका रौतहट र सिरहा जिल्लामा आइतबार पोखरी र नदीमा डुबेर चार जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई बालबालिका रहेका छन् ।
रौतहटको इशनाथ नगरपालिका ८ मन्सरी टोलस्थित कुडिया खोलामा डुबेर आठ वर्षीय अनिश बैठाको मृत्यु भएको छ ।उनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको हो ।
यसैगरी बौधिमाई नगरपालिका ८ इनरवा पुलनजिक रहेको लालबकैया खोलामा डुबेर १२ वर्षीया सकुन्तलाकुमारी साहको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
उता सिरहाको अर्नमा गाउँपालिका ५ पछवारीका ८० वर्षीय फुसयाही यादवको धोबियाही पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यसैगरी सिरहा नगरपालिका ५ मानपुरस्थित कमला खोलामा डुबेर १९ वर्षीय निसान गोहीवारको पनि ज्यान गएको छ । खोलामा डुबेर गम्भीर घाइते भएका गोहीवारलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको प्रहरीले जनाएको छ ।





