छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्ध्य दिएर मनाइयो

सिमराः छठ पर्वको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर उल्लासका साथ मनाइएको छ । आजको दिनलाइ सँझिया घाटे पनि भनिन्छ ।
आज जलाशयमा पुगेर व्रतालुले सूर्यको उपासना गर्ने र बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । अस्ताउँदो सूर्यलाई अर्ध्य दिन बारा, पर्साका जलाशयमा ब्रतालु र भक्तजनको भिड् लागेको थियो ।

सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने धार्मिक विश्वास रहेको छ । चार दिनसम्म उल्लासका साथ मनाइने छठ पर्वका लागि छठघाटलाई बेहुली झैँ सिंगारिएको छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्दछन् ।







