बारामा छठ पूजा हेर्न गएका युवकको शव फेला


eShilalekh

१२ कार्तिक २०८२, बुधबार १२:३८

सिमराः बारामा सोमबार साँझ छठ पूजा हेर्न गएका युवकको शव फेला परेको छ । महागढीमाई नगरपालिका ५ बगडमपुरका १९ वर्षीय भोला सहनीको शव मंगलबार बिहान एक पोखरीमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

सहनी सोमबार साँझ छठ पूजा हेर्न घरबाट निस्केका थिए । तर, उनी रातीसम्म घर नफर्केपछि मंगलबार बिहान उनका बुबा ध्रुव सहनीले छोरा हराएको जानकारी गंजभवानिपुर प्रहरी चौकीमा दिएका थिए ।

प्रहरी नायब निरीक्षक बालराज गिरिको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा रहेको बाँसघारीमा भोलाका व्यक्तिगत सामग्रीहरू फेला पारेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा उनका स्टिलको बाला, जुत्ता, पर्स, कालो हुडी, मोबाइल, घडी र इयरबड बरामद भएको छ ।
खोजतलास गर्दै जाँदा नजिकै रहेको दहियार टोलका ललन यादवको पोखरीमा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटना शंकास्पद देखिएकाले दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्