मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


eShilalekh

१२ कार्तिक २०८२, बुधबार १४:३५

सिमराः जल तथा मौसम विज्ञान विभागले मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सबैमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार दिउँसो जारी विशेष बुलेटिनमा विभागले बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म देशभर मौसम बदली रहने जनाएको हो ।

विशेषगरी मधेश, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

विभागका अनुसार मधेश प्रदेशका सबै जिल्लामा वर्षाको प्रभाव देखिने अनुमान गरिएको छ । जिल्लामा जलस्रोत बढ्ने, नाला–खोला र साना नदीमा पानीको बहाव वृद्धि हुने र केही स्थानमा बाढी–पहिरोको जोखिम रहन सक्ने चेतावनी दिइएको छ ।

यो चेतावनी विशेषगरी कात्तिक १३ गते बिहान ८ बजेदेखि कात्तिक १४ गते बिहान ८ बजेसम्मको २४ घण्टाका लागि केन्द्रित छ ।

यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै, कोशी, मधेश र बागमती प्रदेशका सबै जिल्लाहरूका साथै दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा र नवलपुरका स्थानीयलाई पनि सचेत रहन विभागले आग्रह गरेको छ ।

देशको पश्चिमी भू–भागमा भने मौसम सामान्य रहने अनुमान गरिएको छ । विभागले मौसम परिवर्तनका कारण हुन सक्ने पहिरो, चिसो, यातायात अवरोध लगायतका सम्भावित जोखिमबाट बच्न र दैनिक जनजीवनमा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्