पर्सा प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सिमराः पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १७ अलौका २५ वर्षीय साहजिम मियाँ अन्सारी रहेका छन् ।
२०७८ साल वैशाख ३ गते साँझ करिब ५ बजे सोही स्थानकी २२ वर्षीया रबिना खातुनलाई दाइजोको विषयलाई लिएर मानसिक यातना तथा कुटपिट तथा कर्तव्य गरी हत्या गरेको आरोप थियो । वारदात पश्चात अन्सारी फरार रहेका थिए ।
लामो समयदेखि फरार रहेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार बिहान ८ः३० बजे उनको घर अलौबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका अन्सारीलाई थप कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जनाएका छन् ।






