धनुषामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु, दुई गम्भीर घाईते

धनुषाः धनुषामा शनिबार साँझ सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका १ वीरेन्द्र बजार नजिक यात्रुवाहक बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अटोरिक्सामा सवार गणेशमान चारनाथ १ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३) नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकमध्ये तीन जना एउटै परिवारका सदस्य रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते १४ वर्र्षीया शीतल मगर र ९ वर्षीय रोशन मगरलाई जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जनाएका छन् ।





