बारामा सडक निर्माणका लागि पाँच हजारभन्दा बढीको हस्ताक्षर

सिमराः बाराको मानमत–मटिअर्वा सडकखण्ड अन्तर्गत पर्ने साढे ३ किलोमिटर सडक निर्माणका लागि दबाब स्वरूप १३ दिनभित्र पाँच हजारभन्दा बढी नागरिकले हस्ताक्षर गरेका छन् ।
जिल्लाको सदरमुकाम कलैयाको मुख्य भरतचोकमा कलैयाका युवाहरूले संयुक्त रूपमा गत असोज ३१ गते (शुक्रबार) बाट हस्ताक्षर अभियान सुरु गरेका थिए ।
अभियानकर्ता संजय चौधरीका अनुसार आइतबारसम्म करिब पाँच हजार ६८० जनाले हस्ताक्षर गरिसकेका छन् ।
कलैयाका स्वतन्त्र युवा सौरभ चौगाई, सौरभ पाण्डे, सुमित पटेल, बिक्की गुप्ता, सुरज साह, अमित तिवारी र संजय चौधरीलगायतले उक्त अभियानको नेतृत्व गरेका हुन् ।
चौधरीका अनुसार चाडपर्वका कारण करिब चार दिन अभियान स्थगित भए पनि आइतबारदेखि पुनः निरन्तर रूपमा हस्ताक्षर संकलन जारी छ ।
सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमत सडकखण्ड (२७ किलोमिटर) कालोपत्रे गर्ने कार्य सुरु गरेको थियो । तर, हुलाकी मार्ग आयोजना अन्तर्गत कम्पनीले त्यसबेला २३ किलोमिटर मात्रै कालोपत्रे गरी कलैया बजार क्षेत्रको साढे ३ किलोमिटर अधुरै छाडेको थियो ।
१४ वर्ष बितिसक्दा पनि सो अधुरो सडक खण्डमा अहिलेसम्म काम हुन नसकेका कारण स्थानीयले असन्तुष्टि जनाउँदै दबाब अभियान सुरु गरेका हुन् ।





