सिरहाका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ

सिरहाः सिरहा प्रहरीले आइतबार विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान र कर्जन्हा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत २०८२ कात्तिक १६ गते साँझ ९ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले लहान नगरपालिका वडा नं ११ पडरिया टोलका २३ वर्षीय सुजित चौधरीको घरमा खानतलासी गर्दा प्लास्टिकमा बेरिएको अवस्थामा लागूऔषध ब्राउन सुगर बरामद गरेको छ ।
बरामद ब्राउन सुगरको कुल तौल प्लास्टिकसहित ४.८९ ग्राम र प्लास्टिक बाहेक ३.७० ग्राम रहेको छ । प्रहरीले उनको कोठाबाट डिजिटल तराजु, खुर्पा र मोबाइलसमेत बरामद गरी चौधरीलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी सोही राति करिब ११ः२० बजे पडरिया टोलबाट नै लागुऔषध सेवन तथा बिक्री वितरणको सूचनाका आधारमा प्रहरीले २६ वर्षीय योगेश्वर चौधरीको शरीर र कोठामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा कालो प्लास्टिकको झोलाभित्र रहेको प्लास्टिकको पोकाबाट ब्राउन सुगर बरामद गरेको छ ।
उक्त लागूऔषधको तौल प्लास्टिकसहित ७.५५ ग्राम र प्लास्टिक बाहेक ६.५० ग्राम रहेको छ । साथै २ थान कैची, चिलम र स्टिलको चक्कु पनि बरामद गरी चौधरीलाई पक्राउ गरिएको छ ।
यसैगरी राति ११ः४० बजे पडरिया टोलमा प्रहरीले ४३ वर्षीय मनोज चौधरीलाई उनको घरको आँगनबाट नियन्त्रणमा लिएको हो । उनको घरको सिँढी नजिक ढकियाभित्र घाँसले छोपी राखिएको स्टिलको प्लेट माथि चुरोटको खोलभित्र खैरो हिरोइन फेला परेको थियो । उक्त लागूऔषधको तौल प्लास्टिक बाहेक ०.२० मिलिग्राम रहेको छ ।
यसैगरी राति ८ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको गस्ती टोलीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं ४ भुलके चौक नजिकै पैदल हिँडिरहेका एक व्यक्तिलाई शंकाको आधारमा चेकजाँच गरेको थियो ।
मकवानपुर गढी नगरपालिका वडा नं ४ का २७ वर्षीय रविन कुमार तिमल्सिनाले बोकेको कालो झोलाभित्र नाइट्राजेपाम ट्याबलेटको चार पत्तामा जम्मा १८ पिस ट्याबलेट फेला परेपछि तिमल्सिनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका चारै जनामाथि सम्बन्धित इलाका प्रहरी कार्यालयहरूबाट लागुऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।





