एमाले फुटाउनु जिवनकै ठूलो भूल भयोः किसान श्रेष्ठ

सिमराः नेकपा एमालेमा फर्किएका पूर्वमन्त्री एवम् बारा ४ का निवर्तमान सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल भएको बताएका छन्। राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले सुदृढ र सशक्त एमाले निर्माण साझा संकल्प भएको बताएका हुन्।
श्रेष्ठले एमाले नै मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार भएको उल्लेख गर्दै गुटविहीन पार्टी निर्माणका लागि आफूहरू बिना कुनै माग, शर्त वा चाहना एमालेमा फर्किएको स्पष्ट पारे। ‘एमाले केवल एउटा संगठन होइन, यो आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो’ श्रेष्ठले भने ‘पार्टी छाडेपछि हामीले त्यसको गहिरो अर्थ बुझेका छौं।’
एमालेले देशलाई संविधान, संघीयता र लोकतन्त्रको दिशा दिएको पार्टी भएको र अहिलेको आर्थिक तथा राजनीतिक संकटबाट मुलुकलाई निकास दिन सक्षम शक्ति पनि एमाले नै रहेको श्रेष्ठले बताए ।
श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौं युवाका लागि प्रेरणाको स्रोत भएको बताए।
‘आदरणीय अध्यक्षज्यूको दृढ नेतृत्व र राष्ट्रप्रतिको अटल प्रतिबद्धता आजको नेपालको आवश्यकता हो’ उनले भने ‘आपत्ति, आलोचना र अवरोधबीच पनि उहाँले राष्ट्रको स्वाभिमान र विकासको सपना कहिल्यै मर्न दिनुभएन। उहाँकै साहस र दृष्टिले हामीमा फेरि विश्वास जगाएको छ। देश बन्छ भने, एमालेको बाटोबाटै बन्छ।’





