बारा: १८ वर्ष कैद सजाय पाएका प्रतिवादी पक्राउ, कारागार चलान

सिमराः अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन् ।
अंसारीलाई कलैया उपमहानगरपालिका–६ स्थित बजार क्षेत्रबाट बुधबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । घलेका अनुसार अंसारीलाई बारा जिल्ला अदालत पेश गरी अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि वीरगन्ज कारागार पठाइएको बताए ।
१२ वर्षीया नाबालिकामाथि अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी अभियोगमा अदालतले अंसारीलाई १८ वर्ष कैद, ६ लाख जरिवाना र अपराध पीडित राह कोषमा २४ हजार भराउने फैसला गरेको थियो । उच्च अदालतका न्यायाधीस जगतबहादुर थापा र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलाशले २०८२ पुस २४ गते उक्त फैसला गरेको थियो ।







