मेरो नियुक्ति संवैधानिक छः मुख्यमन्त्री यादव

जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्ति र शपथ ग्रहण प्रक्रिया नेपालको संविधान अनुसार नै भएको बताएका छन् । जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेको नियुक्ति संवैधानिक भएकाले त्यसबारे कुनै भ्रम नराख्न आग्रह गरे।
‘विश्वासको मत मागिसकेका मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा दिनु र विश्वासको मत नपाउनु संविधानको स्वाभाविक प्रक्रिया हो। त्यसपछि ठूलो दलको नेताको रूपमा मलाई नियुक्त गर्नु संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै हो’ मुख्यमन्त्री यादवले भने । उनले सर्वोच्च अदालतबाट कुनै आदेश आएमा त्यसको सम्मान गर्ने बताए ।
उनले हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी र तोडफोड भएकाले कार्यभार सम्हाल्न ढिलाइ भएको जानकारी पनि दिए। उनले राष्ट्रिय सम्पत्ति जलाउनु, झण्डाको अपमान गर्नु र कर्मचारीमाथि हातपात गर्नु लज्जास्पद कार्य भएको बताए ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाएर राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सो नियुक्ति र शपथ ग्रहणप्रति असन्तुष्टि जनाउँदै केही सांसद र दलहरूले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड र हातपात गरेका थिए।





