सूर्य नेपालको कर्मचारी भएको झूटो दाबी गर्दै ठगी गर्ने वीरगन्जका तीन जना पक्राउ

सिमरा: सूर्य नेपाल प्रा.लि.का कर्मचारी भएको झूटो दाबी गर्दै ठगी गर्ने वीरगन्जका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २४ का २८ वर्षीय राजु सर्राफ, वडा नं. १९ का ४० वर्षीय रामराउत कुर्मी, र वीरगन्ज ३२ टेढा घर भई हाल हेटौंडा उपमहानगरपालिका १० टिसनरोड बस्ने ४० वर्षीय नितेशकुमार केशरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार उनीहरूले आफूलाई सूर्य नेपाल प्रा.लि.का कर्मचारीका रूपमा परिचय दिंदै हेटौंडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र नक्कली बैंक भौचर तयार गरी व्हाट्सएपमार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
व्यवसायीहरूले ती भौचर हेरेर सामान वीरगन्ज पठाएपछि मात्र भुक्तानी नआएको र आफूहरू ठगीमा परेको थाहा पाएका थिए।
प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेकाहरूले विभिन्न समयमा करीब रु. १७ लाख ८७ हजार बराबरका सामान ठगी गरेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।





