एमाले फर्किएका पूर्वमन्त्री किसान श्रेष्ठलाई बारामा यसरी गरियो स्वागत (तस्वीरहरु)

सिमराः नेकपा एमालेमा फर्किएका पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) बिहीबार बारा आएका छन् । श्रेष्ठलाई एमाले जीतपुरसिमरा नगर कमिटी र राष्ट्रिय युवा संघका नेताकार्यकर्ताले मोटरसाइकल ¥यालीसहित स्वागत गरेका थिए ।
श्रेष्ठ बारा र मकवानपुरको सीमामा रहेको चुरियामाई मन्दिरको दर्शन गर्दै आफ्नो निर्वाचन क्षेत्र प्रवेश गरेका थिए । श्रेष्ठलाई एमालेका नेताकार्यकर्ताले ¥यालीसहित चुरियामाईदेखि जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित घरसम्म लगेका थिए ।

जेनजी आन्दोलनको समयमा जलेर नष्ट भएको घरमा प्रवेश गर्दैै नेता श्रेष्ठले अब व्यक्तिका घर, सार्वजनिक सम्पति जलाउन एमालेले नदिने बताए । उनले व्यक्ति र सार्वजनिक सम्पतिको संरक्षण एमालेले गर्ने उनको भनाई थियो ।
एमालेका नेताकार्यकतामाथि कर्के आँखा लगाएर नहेर्न चुनौती दिँदै नेता श्रेष्ठले एमालेले अब अन्याय नसहने बताए । ‘एमालेले अन्याय पनि गर्दैन र अन्याय पनि सहदैन’ श्रेष्ठले भने ‘कसैले अन्याय गरे एमाले चुप लाग्दैन, राष्ट्रिय युवा संघ चुप लाग्दैन ।’

श्रेष्ठले जेनजी आन्दोलनको समयमा आफ्नो घर र सवारीसाधनमाथि नियोजितरुपमा आगजनी भएको बताए । जेनजीले आफ्नो आन्दोलन फिर्ता लिईसकेपछि केही व्यक्तिले योजना बनाएर आफ्ना् घरमा आगजनी गरेको बताउँदै श्रेष्ठले त्यस्ता व्यक्तिलाई नछाड्ने समेत बताए ।
यसअघि चुरियामाई मन्दिरमा बोल्दै नेता श्रेष्ठले सिंगो मधेशका जनतालाई सेवा गर्ने र मधेशलाई एमालेको लालकिल्ला बनाउने उर्जासहित आफू बारा आएको बताए । एमाले अफ्ठेरो स्थितिमा रहेका बेला सतिसाल भएर उभिने गरी आफू प्रवेश गरेको बताउँदै श्रेष्ठले अन्य बाँकी रहेकालाई पनि घर फर्कन आग्रह गरे ।








