रौतहटमा सुरुङ खनेर दुई घरबाट १२ लाख बराबरको धनमाल चोरी

रौतहटः रौतहटको वृन्दावन नगरपालिका १ बलेरीमा शनिबार राति दुई घरमा चोरको संगठित समूहले सुरुङ खनेर १२ लाख रुपैयाँ बराबरको धनमाल लुटेको छ ।
वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले ब्रह्मदेव चौधरीको घरको भित्तामुनि सुरुङ बनाइ भित्र पसेर करिब सात लाख मूल्यका सुन–चाँदीका गरगहना, ८० हजार नगद तथा विभिन्न महत्वपूर्ण कागजात चोरी गरेका छन् ।
त्यसपछि उनीहरूले छिमेकी दुखा राउत कुर्मीको घरमा पनि सुरुङ खनेर घरभित्र प्रवेश गरी करिब चार लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन तथा कागजात लिएर फरार भएको वडाध्यक्ष सहनीले बताए ।
पीडित चौधरीका अनुसार घटनाको समयमा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए । चोरहरूले घरभित्रका लत्ता–कपडा समेत खेततर्फ फालेर भागेका छन् ।
लगातारका यस किसिमका चोरीका घटनाले स्थानीय बलेरीवासी त्रसित भएका छन् । उनीहरूले सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाले घटनाबारे सूचना प्राप्त भएको र प्रहरीले प्रारम्भिक अनुसन्धान सुरू गरेको जनाएको छ ।





