पर्साको जगरनाथपुरबाट १० किलो लागूऔषध गाँजा बरामद, तस्कर फरार

सिमराः सशस्त्र प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिकाबाट सोमबार बिहान १० किलो लागूऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलबहादुर गुरुङको नेतृत्वमा खटिएको टोलीले गस्तीका क्रममा बिसुनपुरवा नजिक शंकास्पद गतिविधि देखेपछि खोजतलास थालेको थियो।
खोजतलासका क्रममा फालिएको अवस्थामा गाँजा बरामद भएको जनाइएको छ। प्रहरीले तस्करहरूलाई नियन्त्रणमा लिन प्रयास गरे पनि उनीहरू फरार हुन सफल भएका छन्। उनकाे खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएकाे सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साले जनाएको छ।





