महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

महोत्तरीः महोत्तरीको जलेश्वर नगरपालिकामा सोमबार साँझ धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
जलेश्वर नगरपालिका ९ आगेपुरका करिब ६० वर्षीय बेचन राइनको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला धनुषा नगराइन नगरपालिका ९ फुलगामाका अन्दाजी २० वर्षीय गुड्डू मण्डल रहेका छन् । राइनको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार मण्डललाई हत्यापछि सोही वडाको अर्को टोलमा रहेको आफ्नो दिदीको घर छेउछाउमा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।
राइनको टाउको पछाडी करिब चार चोटी खुकुरीले प्रहार गरिएको र राइनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । प्रहरीले मण्डलमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ ।





