बारामा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ


eShilalekh

३ मंसिर २०८२, बुधबार २०:३९

सिमराः बारामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका १ त्रिबेणीका ४२ वर्षीय कृष्ण महतो, सोही ठाउँका ३२ वर्षीय लालुकुमार बैठा, सोही ठाउँका ३६ वर्षीय लालु साह, निजगढ नगरपालिका ८ का ४० वर्षीय राजकुमार लामा, २५ वर्षीय अभिशेक श्रेष्ठ रहेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराको टोलि तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्जको टोलिले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले कृष्ण महतोको घरमा खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा उनको घरबाट कालो प्लाष्टिकको पुरियामा प्लाष्टिक सहित २२ ग्राम ८७० मिलिग्राम र सेतो प्लाटिकको पुरियामा प्लाष्टिक सहित सात ग्राम ९४० मिलिग्राम ब्राउन सुगरको पुरिया बरामद भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेंद्र श्रेष्ठले जनाएका छन् ।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्