सिमरामा जेनजीको प्रदर्शन बिहीबारका लागि स्थगित, यातायात सुचारु

सिमराः बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन बिहीबारका लागि स्थगित भएको छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतीपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन् ।
जेनजी युवा कपिल खरेलले प्रशासनसंगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताए । उनका अनुसार प्रहरीप्रशासन र जेनजीबीच शुक्रबार वार्ता हुनेछ ।
आफूहरुमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसंग झडप समेत भएको थियो । झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए ।
प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरुद्ध बनेको यातायात सुचारु भएको छ । यातायात सुचारु भएसंगै सिमराको अवस्था सामान्य बनेको छ ।





