सुदन गुरुङ पूर्वमन्त्री श्रेष्ठको घरमा पुगेपछि उठ्यो विवाद (हेर्नुस भिडियो)


eShilalekh

६ मंसिर २०८२, शनिबार २०:१२

सिमराः जेनजीका नेता सुदन गुरुङ शनिबार बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठको जीतपुरसिमरा ४ स्थित घरमा पुगेका छन् । पूर्वमन्त्री श्रेष्ठलाई भेट्न भन्दै बिना जानकारी गुरुङ श्रेष्ठको घरमा पुगेका थिए ।

उनले पूर्वमन्त्री श्रेष्ठलाई नभेटेपछि त्यहाँ कार्यरत प्राविधिक चिरञ्जिवि झासंग कुराकानी गरेर फर्किए । केही जेनजी युवा लिएर श्रेष्ठको घरमा पुगेर फर्कने क्रममा गुरुङले केही संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा आफू सम्झाउन गएको बताए ।

नेता श्रेष्ठले केही केटाहरु पठाएर युवालाई तर्साउने र धम्क्याउने काम गरिरहेकाले त्यसो नगर्न भन्दै सम्झाउनका लागि आफू गएको प्रतिक्रिया दिएका थिए । उनले नेता श्रेष्ठ नभेटेपनि कर्मचारीलाई सन्देश छोडेर आएको बताए ।

यता गुरुङ फर्किएलगत्तै श्रेष्ठको घरमा कार्यरत कर्मचारी र सचिवालयले पत्रकार सम्मेलन गरी गुरुङले धम्कीपूर्ण भाषा प्रयोग गरेको बताएका छन् । इन्जिनियर झाले गुरुङ घरमा आएर जेनजी युवामाथि अब हातपात भएमा जे पनि हुनसक्ने भन्दै चेतावनी दिएको प्रतिक्रिया दिए । नेता श्रेष्ठका स्वकीय सचिव विकास साहले गुरुङ कुन हैसियतले निजी घरमा प्रवेश गरेको भन्दै प्रश्न गरेका छन् ।

काठमाडौंमा रहेका नेता श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत जेनजीको कथित नेताका नाममा घरमा प्रवेश गरी कर्मचारीलाई धम्क्याउने कार्यको आफूले भत्र्सना गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत शान्ति सुरक्षाको प्रत्याभुति गराईदिन सरकारसंग माग गरेका छन् ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पनि किसान श्रेष्ठको घरमा बिना जानकारी अनधिकृत रुपमा जो कोही पनि प्रवेश गर्नु बेठिक रहेको प्रतिक्रिया दिएका छन् । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवम् नगरका प्रवक्ता इश्वर खत्रीले पूर्वमन्त्री श्रेष्ठको घरमा गुरुङ प्रवेश गरेको घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसंग माग गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्