धनुषामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु, एक घाईते

धनुषाः धनुषाको मिथिला नगरपालिकामा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिथिला नगरपालिका १ लक्ष्मीनिवासकी ४६ वर्षीया सुमिन्त्रा देवी महतो रहेकी छन् । दुर्घटनामा उनका ५० वर्षीय श्रीमान् राजकुमार महतो गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार ढल्केवर–जनकपुरधाम राजमार्गअन्तर्गत मिथिला नगरपालिका २ हजराचोक नकटाझिझा सडकखण्डमा साइकलमा सवार दम्पतीलाई जनकपुरधामबाट ढल्केवरतर्फ तीव्र गतिमा जाँदै गरेको बा.प्र.०१–०३१ च २०३६ नम्बरको कारले ठक्कर दिएको थियो ।
दुर्घटनामा सुमित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका राजकुमारलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
कार चालक सर्लाही लालबन्दी नगरपालिका ६ का १८ वर्षीय दिवस कार्कीलाई कारसहित नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।





