सुदन गुरुङले धम्की दिएको भन्ने घटनाको छानविन गर्न एमाले मधेश कमिटीको माग


eShilalekh

७ मंसिर २०८२, आईतवार २०:२२

सिमराः नेकपा एमाले मधेश प्रदेश कमिटीले जेनजी अगुवा सुदन गुरुङले पूर्वमन्त्री किसान श्रेष्ठको निजी निवासमा पुगेर धम्कीपूर्ण व्यवहार र आचरण देखाएको भन्दै उक्त घटनाको छानविन गर्न माग गरेको छ । मधेश प्रदेश कमिटी उपसचिव आरती भण्डारीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेकी हुन् ।

‘नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका निवर्तमान सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा आफूलाई जेनजीको अगुवा बताउने सुदन गुरुङले गई धाकधम्कीपूर्ण आचरण र व्यवहार देखाएकोले त्यसको छानबिन गरी तत्काल कारबाही गर्न सरकार र स्थानीय प्रशासनसंग नेकपा एमाले मधेश प्रदेश कमिटी जोडदार माग गर्दछ’ उपसचिव भण्डारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपसचिव भण्डारीले लोकतन्त्रको उपहास हुने गरी निषेधको राजनीति अन्त्य गर्न दल वा समूहलाई आग्रह गरेकी छिन् । उनले मंसिर ३ गते सिमरामा भएको घटनाप्रति दुःख समेत व्यक्त गरेकी छिन् ।

राष्ट्रिय युवा संघ नेपालको पूर्वनिर्धारित युवा जागरण कार्यक्रममा सहभागी हुन आउने केन्द्रीय नेताहरुलाई लक्षित गरी जेनजी युवाहरुले विरोध कार्यक्रमको योजना बनाएको र सो क्रममा दुःखद् घटना भएको उनको भनाई छ । सबैले आफ्नो कार्यक्रम र विचार राख्न पाउने अधिकार हुँदाहुँदै पनि अवरोध गर्न खोज्नु लोकतन्त्रको उपहास भएको भण्डारीले उल्लेख गरेकी छिन् ।

उनले उक्त घटनामा दोषी बनाई नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहसहितका नेता र जनप्रतिनिधिलाई झुठो मुद्धा दायर गरिएको भन्दै उक्त मुद्धा खारेज गर्न माग गरेकी छिन् । उनले हिरासतमा रहेका धनबहादुर श्रेष्ठ, कैमुदिन अंसारी, अरविन्द साहको रिहाईको माग समेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्