लालबन्दीमा आत्मदाह प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

सिमराः लालबन्दी नगरपालिका ७ मा आफ्नै शरीरमा आगो लगाएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। झापा गौरादह नगरपालिका २ का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको जनकपुरस्थित प्रादेशिक अस्पतालमा बुधबार बिहान करिब २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
पोखरेलले मंगलबार साँझ डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर आफैलाई आगो लगाएका थिए। स्थानीयले पानी र बालुवा हालेर आगो निभाएपछि उनलाई प्रारम्भिक उपचारका लागि लालबन्दीस्थित एक स्वास्थ्य संस्थामा लगिएको थियो।
पहिचान नखुलेपछि बेवारिसे व्यक्तिको रूपमा उपचार भइरहेकोमा परिवार बिहान मात्र सम्पर्कमा आएपछि परिचय खुलेको प्रहरीले बताएको छ। प्रारम्भिक जानकारीअनुसार पोखरेल केही समयदेखि घरमा नबसी मठमन्दिरमा बस्दै आएका थिए। आत्मदाहको कारण भने खुलेको छैन।
मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टमका लागि राखिएको छ। उनका आफन्त झापाबाट जनकपुरतर्फ प्रस्थान गरेका छन्।





