बारामा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ


eShilalekh

११ मंसिर २०८२, बिहीबार २१:४०

सिमरा: बारा प्रहरीले भारतबाट नेपालतर्फ कोकिन लुकाइछिपाइ ल्याउने क्रममा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण नायकटोलका ३५ वर्षीय लालबाबु साह रहेका छन् ।

प्रहरीका अनुसार विश्रामपुर गाउँपालिका–१ खेखरिया हुँदै नेपाल प्रवेश गर्दै गरेको बि आर ०५ ए एन ३५३२ नम्बर प्लेट भएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले रोकेर जाँच गरेको थियो। मोटरसाइकलको पछिल्लो भागमा दुध बोक्ने फलामको साँचो मुनि लुकाइएको सामग्री चेकजाँच गर्दा जुटको बोरा भेटिएको थियो।

बोरामा १९ वटा प्याकेट फेला परेको र प्रत्येक प्याकेटमा सेतो प्लाष्टिकभित्र कोकिन राखिएको पाइएको प्रहरीको भनाइ छ ।

कुल २१ ग्राम ६५० मिलिग्राम कोकिनसहित पक्राउ परेका साहलाई नियन्त्रणमा राखी अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्