मधेश प्रदेशसभाको बैठक बुधबार बिहान ८ः३० बजे बस्ने


eShilalekh

१६ मंसिर २०८२, मंगलवार २१:२४

जनकपुरधामः मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक बुधबार बिहान साढे ८ः३० बजेका लागि बोलाइएको छ। मधेश प्रदेश सभा सचिवालयले बैठक आहवान गरेको हो ।

सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। उनले पहिलो प्रस्तावित समय दिउँसो २ बजे मागे पनि बुधबारै बिहान साढे ८ः३० बजे बैठक बस्ने भएको हो ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ। मुख्यमन्त्री यादवले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार एमाले दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उक्त नियुक्तिविरुद्ध दर्ता भएका तीनवटा रिटमध्येको आदेश आएपछि विश्वासको मतको प्रक्रियातर्फ अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्