मुख्यमन्त्री अनुपस्थित भएपछि स्थगित मधेश प्रदेशसभा बैठक दिउँसो २ बजेसम्मका लागि

जनकपुरधामः मधेश प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया मुख्यमन्त्री सरोज यादव अनुपस्थित भएपछि स्थगित गरिएको छ। बिहान ८:३० बजे बोलाइएको बैठक १०:३० बजे मात्र सुरु भयो । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूनै उपस्थित नहुँदा बैठक २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सर्वोच्च अदालतले धारा १६८(९) बमोजिम २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मुख्यमन्त्री यादवले बुधबारको बैठकमार्फत मत लिने तयारी गरेका थिए। यादव गत कात्तिक २३ गते एमाले संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन् । उनको नियुक्ति सम्बन्धी विवाद सर्वोच्चसम्म पुगेको थियो।
हाल कायम एक सय तीन सदस्य मध्ये प्रदेशसभामा विश्वासको मतका लागि ५३ मत आवश्यक छ। एमालेसँग हाल २४ मत मात्रै उपलब्ध छन्। समयसीमा भित्र विश्वासको मत नपाए सरकार गठन प्रक्रिया धारा १६८(२) अनुसार अघि बढ्ने सर्वोच्चले स्पष्ट गरिसकेको छ।





