पराल-भुस बोकेका सयौं ट्रक पथलैयामा रोकिँदा किसान र व्यवसायी आक्रोशित, ट्राफिकविरुद्ध धर्ना


eShilalekh

१७ मंसिर २०८२, बुधबार १७:४१

सिमराः बाराको पथलैयामा पराल, भुस लगायत कृषिजन्य प्रयोजनका कच्चा पदार्थ बोकेका ट्रक र ट्र्याक्टरलाई ट्राफिक प्रहरीले रोक लगाएको विरोधमा किसान, व्यवसायी र चालक आन्दोलित बनेका छन्। राजमार्गमै सयौं सवारी साधन रोकिएपछि उनीहरूले बुधबार पथलैयास्थित ट्राफिकको प्रदेश स्तरीय कार्यालय अगाडि धर्ना दिएका हुन्।

‘भभरलोड’ (ढाला भन्दा माथि बोकेको) को कारण देखाउँदै हलुका कृषिजन्य प्रयोजनको सामग्री ढुवानीमा ट्राफिक प्रहरीले अवरोध सिर्जना गरेको किसान तथा व्यवसायीहरूको आरोप छ । च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले पराल, भुसजस्ता कच्चा पदार्थ कृषि उत्पादनका लागि आवश्यक हुने भए पनि ट्राफिकले अनावश्यक दुःख दिएपछि आन्दोलन गर्नुपरेको बताए।

धर्नामा सहभागी चालक र किसानका अनुसार पछिल्ला केही दिनयता पथलैयामा एक सयभन्दा बढी ट्रक तथा ट्र्याक्टर राजमार्गमै अलपत्र परेका छन्। चालक सूर्य श्रेष्ठले ट्राफिक प्रहरीबाट हुने मनपरी गतिविधिका कारण पैसा नबुझाई सवारी चलाउन पाइने अवस्था नरहेको आरोप लगाए।

ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालले भने आफूहरूले कानुनअनुसार मात्र कारबाही गरिरहेको दाबी गरेका छन्। ‘तोकिएको मापदण्ड भन्दा बढी बोकेका सवारी साधनलाई रोकेका हौं’ उनले भने ‘अलग मापदण्ड छ भने प्रमाणसहित ल्याउनुपर्छ, त्यसअनुसार छाडिन्छ।’ उनका अनुसार अत्यधिक अग्लो भार बोकिएको गुनासो बढेपछि कडाइ गरिएको हो।

सिलवालले ट्राफिक प्रहरीले चालकसँग अवैध रुपमा पैसा लिने गरेको भन्ने आरोपलाई प्रमाणसहित पुष्टि गर्न चुनौती पनि दिए।

कृषि तथा पशुपालनमा प्रयोग हुने कच्चा पदार्थ बाटोमै रोकिँदा किसान मारमा परेका छन्। व्यवसायी तथा किसानहरूले दीर्घकालीन समाधानका लागि सरकारसँग स्पष्ट र व्यवहारिक मापदण्ड बनाउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्