सिमरा महिला सहकारीद्धारा एक सय थान ब्लाङकेट हस्तान्तरण

सिमराः सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट हस्तान्तरण गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गरेको हो ।
संस्थाका पदाधिकारीले एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवनित रौनियारलाई ब्लाङ्केट हस्तान्तरण गरेका थिए । संस्थाले हस्तान्तरण गरेको उक्त ब्लाङ्केट नगर अस्पतालमा जन्म लिने नवजात शिशुका लागि वितरण गरिनेछ ।
नवजात शिशुहरूलाई आवश्यक न्यानाे कपडा उपलब्ध गराउनुका साथै महिला सशक्तिकरण तथा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई समर्थन र प्रोत्साहन गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष उद्वब प्रसाद गौतम, संस्थाकी अध्यक्ष मुना खरेल, निर्वतमान अध्यक्ष अनिता लम्साल, उपाध्यक्ष भिमादेवी शर्मासहित संस्थाका अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सचिव गिता शर्माले गरेकी थिईन् ।





