नाबालिग बलात्कार मुद्दामा शिवशंकर साह ‘हिरा’ पक्राउ


eShilalekh

२४ मंसिर २०८२, बुधबार १४:१६

सिमराः जनकपुरको एउटा होटलमा दुई दिनसम्म नाबालिगलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा शिवशंकर साह ‘हिरा’ लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ गरिएको हो।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए। नेपाल प्रहरी र भारतीय सुरक्षा निकायबीचको समन्वयमा उनलाई सीतामढीबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक एवं धनुषा प्रहरीका प्रवक्ता गणेशबहादुर बमले जानकारी दिए।

हिरा साह गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयरका उम्मेदवार रहेका थिए। उनी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पनि हुन्।

उक्त घटनामा संलग्न रहेको आरोपमा नाबालिगका मामा संजय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ। महासेठमाथि मिलापत्र गर्ने प्रयास गरेको र पीडित पक्षबाट रकम लिएको आरोप छ।

प्रहरीका अनुसार बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिका १0 का मनोज कुमार साहलाई यसअघि नै पक्राउ गरिएको थियो।

मनोजको बयानका आधारमा प्रहरीले हिरासहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। तीमध्ये दुई जना अझै फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्