वीरगन्ज महानगरलाई बैंकहरूद्वारा ९ थान कम्प्युटर हस्तान्तरण

सिमरा: वीरगन्ज महानगरपालिका कार्यालयको प्रशासनिक कार्य सञ्चालन सहज बनाउन बुधबार विभिन्न वाणिज्य बैंकहरूले मोनिटरसहितका ९ थान कम्प्युटर सेट हस्तान्तरण गरेका छन्।
एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्शियल बैंक लिमिटेडले एक–एक थान गरी कुल ९ थान कम्प्युटर उपलब्ध गराएका हुन्।
महानगरपालिकाका सद्भावना दूत अशोक वैद्यको पहलमा ती बैंकका शाखा प्रबन्धकहरूले मेयर राजेशमान सिंहलाई कम्प्युटर सेट हस्तान्तरण गरेका थिए।
सो अवसरमा मेयर सिंहले बैंकहरूले विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै संकटको समयमा पुनः सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे। उहाँले प्राप्त उपकरणहरूले दैनिक प्रशासनिक कार्य तथा सेवाप्रवाहमा सहजता आउने बताए।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले संकटको घडीमा बैंकहरूबाट प्राप्त सहयोगले कार्यालयको कामकाज सञ्चालनमा ठूलो राहत पुग्ने बताए।
पर्सा बैंकर एशोसिएशनका संयोजक तथा लक्ष्मी सनराइज बैंक वीरगन्ज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा प्रदान गर्नु बैंकहरूको जिम्मेवारी भएको उल्लेख गर्दै महानगरलाई आवश्यक उपकरण सहयोगस्वरूप प्रदान गरिएको बताए।
यसअघि पनि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाल लगायतका संस्थाहरूले महानगरपालिकालाई कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन्।





