एमाले: कलैयामा साहलाई पुनः अवसर, जीतपुरसिमरा टुंगिएन्


eShilalekh

१० बैशाख २०७९, शनिबार २२:३४

सिमराः नेकपा एमालेले कलैया उपमहानगरपालिकाको प्रमुख पदमा पुनः विनोद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको केन्द्रीय सचिवालयको बैठकले शनिवार नौ उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने क्रममा साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि साहलाई एमालेले उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेससंग कम मतान्तरले पराजित भएका साहलाई एमालेले पुनः दोस्रो अवसर दिएको हो ।

२०७४ सालको निर्वाचनमा दस हजार नौ सय तीन मत ल्याउदै नेपाली कांग्रेसका राजेश राय यादव निर्वाचित हुँदा साहले दस हजार सात सय १६ मत प्राप्त गरेका थिए । साह नेकपा एमाले बाराका अध्यक्ष समेत हुन् ।

कलैया उपमहानगरपालिकाको प्रमुख पदका लागि रविनदास श्रेष्ठ, कलामुद्धिन अंसारी र भवानी दुलालको नाम सिफारिस भएको थियो । सिफारिस भएका चार जनामध्ये गठबन्धनविरुद्ध बलियो उम्मेदवारको रुपमा चर्चा पाएका साहको पक्षमा एमालेले निर्णय गरेको हो ।

कलैयाको प्रमुख पद टुंगाएको एमालेले उपप्रमुख पदमा भने निर्णय गरेन । उपप्रमुख पदका लागि चार जनाको नाम सिफारिस भएको छ । उपप्रमुख पद पछि टुंगो लगाउने गरी प्रमुख पदको निर्णय गरेको हो ।

जीतपुरसिमरा अझै टुंगिएन
जिल्लाको दुई उपमहानगरपालिकामध्ये अत्यन्तै चासोका साथ हेरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको उम्मेदवार भने एमालेले टुंगाउन बाँकी राखेको छ । एमाले केन्द्रीय सचिवालय बैठकले शनिवार साँझसम्म जीतपुरसिमराको समेत निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

लामो समयको छलफलपछि एमालेले मधेस प्रदेशको जीतपुरसिमरा र जनकपुरको उम्मेदवार टुंग्याउन बाँकी राखेको हो । एमालेले आईतवार साँझसम्ममा उम्मेदवारको टुंगो लगाउने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख पदका लागि नगर उपप्रमुख सरस्वती चौधरीसहित एमाले बारा सचिवालय सदस्य मनोज पौडेल, जिल्ला कमिटी सदस्य कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, राधेश्याम सिवाकोटी, महादेव चौधरी, प्रलाद साह र विश्वनाथ लामिछानेको नाम सिफारिस गरिएको छ ।

यसैगरी उपप्रमखमा भोला अधिकारी, कमला घिमिरे, रेनु रिमाल, सरिता चौधरी, अशोक लामाको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्