विद्यार्थी आन्दोलनदेखि केन्द्रीय सचिवको उम्मेदवार, पुरुषोत्तम पौडेलको राजनीतिक यात्रा


eShilalekh

२९ मंसिर २०८२, सोमबार १७:४४

सिमरा: नेकपा एमालेका निवर्तमान पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएका छन् । पौडेलले अध्यक्षका उम्मेदवार इश्वर पोखरेलको समूहबाट उम्मेदवारी दिएका हुन् ।

क्षमताअनुसारको जिम्मेवारी नपाएको चर्चामा रहने गरेका पौडेल मध्य तराईका जिल्लामा आज पनि आदर्श नेताका रूपमा स्थापित छन् । पारदर्शी जीवनशैली, जनपक्षीय सोच र गलत विचारसंग कहिल्यै सम्झौता नगर्ने स्वभावले उनलाई धेरैले सच्चा कम्युनिष्ट नेताका रूपमा हेर्ने गरेका छन् ।

पदको लोभ नगर्ने नेता भनेर चिनिएका पौडेलले पहिलो पटक सचिव पदमा उम्मेदवारी दिएका हुन् । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई स्पष्ट र तार्किक ढंगले प्रस्तुत गर्न सक्ने धारावाहिक वक्ताका रूपमा परिचित पौडेलको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले उत्साहजनक रुपमा लिएका छन् ।

विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म

पौडेलको राजनीतिक यात्रा २०३३ सालमा तत्कालीन नेपाल मजदुर किसान संगठनको क्रान्तिकारी विद्यार्थी संघबाट सुरु भएको हो। निजगढको गौरीशंकर माध्यमिक विद्यालयमा स्ववियु सभापति हुँदै संघको केन्द्रीय सदस्य बनेका पौडेल अनेरास्ववियु एकताको पाँचौंको जिल्ला सचिवका रूपमा बाराका विद्यालय पुगेर संगठन विस्तारमा सक्रिय रहेका थिए ।

२०३७ सालमा अनेरास्ववियुले आह्वान गरेको आमहड्तालका क्रममा कोल्हबीबाट पक्राउ परेपछि उनले आठ महिना वीरगन्ज कारागारमा बिताउनुपर्यो । जेल जीवनपछि पौडेलको चर्चा र लोकप्रियता बढ्दै गयो।

२०३८ सालमा काठमाडौंमा सम्पन्न अनेरास्ववियुको छैटौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि पौडेलको राजनीतिक दायरा अझ फराकिलो बन्यो। तत्कालिन नारायणी र जनकपुर अञ्चलको तल्लो भेगको जिम्मेवारी सम्हाल्दै बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीमा संगठन निर्माणमा उनको उल्लेखनीय भूमिका रहेको थियो ।

बारा एमालेको आधारशिला

२०४० सालपछि पार्टी काममा केन्द्रीत पौडेल निजगढ इलाका कमिटी सदस्य, सचिव हुँदै २०४२ सालमा बारा जिल्ला संगठन कमिटी सदस्य बने । निजगढलाई केन्द्र बनाएर जिल्लाको उत्तरी क्षेत्रमा संगठन विस्तार गर्दा आज देखिएको एमालेको बलियो जनाधार त्यही समयको परिणाम रहेको एमालेका पूराना कार्यकर्ता बताउँछन् ।

२०४८ सालमा एमालेको पहिलो जिल्ला अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित पौडेलले बारा जिल्ला कमिटीलाई नारायणी अञ्चलकै उत्कृष्ट कमिटीका रूपमा स्थापित गर्न सफल भए । २०५९ सालमा सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित हुँदै उनले नारायणी अञ्चलको सहइन्चार्जको जिम्मेवारी पनि सम्हाले ।

उतार–चढावबीच नटुटेको प्रतिवद्वता

२०६५ सालको आठौँ महाधिवेशनपछि केन्द्रीय कमिटीबाट बाहिरिनु परे पनि पौडेल पार्टी कामबाट कहिल्यै टाढा भएनन्। २०६५ देखि २०७८ सम्म औपचारिक कमिटीविहीन रहँदा पनि जिल्लामा हुने पार्टी गतिविधिमा सक्रिय सहभागिता जनाइरहे ।

जनप्रतिनिधिका रूपमा पनि प्रभावशाली

२०४३ सालको स्थानीय निर्वाचनमा २१ वर्षको उमेरमै निजगढ गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका पौडेलले जग्गाधनी पूर्जा वितरण, नागरिकता समस्या समाधान, बकैया नदी नियन्त्रण र खेलकुद विकासमा उल्लेखनीय काम गरे ।

२०५१ सालको मध्यावधि निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा पनि अत्याधिक मतका साथ विजयी भएका थिए। छोटो समय युवा तथा खेलकुद मन्त्रीका रूपमा काम गरे पनि खेलकुद क्षेत्रमा नयाँ ऊर्जा भर्न सफल भएको पौडेलको दावी छ ।

चार दशकभन्दा लामो राजनीतिक जीवन, संगठन निर्माणको गहिरो अनुभव र जनपक्षीय छविका कारण पौडेल एमाले सचिव पदका बलिया दाबेदारका रूपमा हेरिएका छन्।

प्रतिक्रिया दिनुहोस्