अनुभव र शालीनताको पहिचान बोकेर केन्द्रीय सदस्यमा अच्युत मैनालीको उम्मेदवारी

सिमरा: नेकपा एमालेका नेता अच्युत मैनालीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । मैनालीले केपी ओली समूहबाट उम्मेदवारी दिएका हुन् ।
शालीन नेताका रुपमा परिचीत मैनाली विगठित प्रतिनिधिसभाका सदस्य हुन् । मैनाली नेपालको वाम राजनीतिमा निरन्तर संघर्ष र संगठनात्मक नेतृत्वबाट स्थापित नाम हुन्। वि.सं. २०२२ साल असार ९ गते काभ्रेपलाञ्चोकको थानसिङ्गमा जन्मिएका मैनाली हाल बारा जिल्लाको कोल्हवी नगरपालिका १ खैरालाई स्थायी ठेगाना बनाउँदै आएका छन्।
स्वर्गीय नन्दीकेशर मैनाली र भवानीदेवी मैनालीका सुपुत्र मैनाली पारिवारिक रूपमा पत्नी टीना सुवेदी र एक मात्र सन्तान अशेष मैनालीसहित जीवनयापन गर्दै आएका छन्।
कानून विषयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका मैनाली २०३६/०३७ सालदेखि नै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। सामाजिक विभेदविरुद्व न्यायको पक्षमा उभिँदै सामाजिक तथा शैक्षिक गतिविधिमा संलग्न रहनु उनको राजनीतिक यात्राको मूल धार बन्यो। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको सक्रियता नेपाल ल क्याम्पसमा स्ववियु सदस्य (२०३९) र स्ववियु सभापति (२०४५) निर्वाचित हुँदै सुदृढ हुँदै गयो।
२०३८ देखि २०४६ सम्म बारा र काठमाडौंमा पार्टी राजनीति र विद्यार्थी आन्दोलनमा सक्रिय रहेका मैनाली २०४७ सालपछि नेकपा (माले) हुँदै नेकपा (एमाले) बारा जिल्ला कमिटीमा रहेर संगठन निर्माणमा खटिए। कोल्हवी गाविस उपाध्यक्ष निर्वाचित हुनुका साथै २०४९ मा बारा जिल्ला विकास समिति सदस्यको जिम्मेवारी सम्हाल्दै उनले स्थानीय शासन र विकासका मुद्वामा काम गरे। २०५४ देखि २०६५ सम्म नेकपा (एमाले) बारा जिल्ला सचिवका रूपमा पार्टी नेतृत्व गरेका मैनाली २०६५ मा केन्द्रीय कमिटी सदस्य बने।
राष्ट्रिय राजनीतिमा उनको भूमिका २०७४ सालपछि अझ प्रस्ट देखियो। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनी सोही वर्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनसम्पर्क सल्लाहकार नियुक्त भए। २०७८ मा नेकपा (एमाले) पोलिटब्युरो सदस्य बनेका मैनाली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बारा १ बाट ३९ हजार एक सय ९५ मत प्राप्त गर्दै विजयी भए।
हाल उनी नेकपा (एमाले) पोलिटब्युरो सदस्यका रूपमा कानून फाँटका इन्चार्ज तथा मधेश प्रदेश पार्टी स्कुल संयोजक छन्। साथै प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समिति सदस्य र बेरुजु फस्र्योट समिति अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
राजनीतिक आन्दोलनकै क्रममा २०३७ सालमा दुई महिना, २०४२/०४३ मा २० महिना र २०६२/६३ को आन्दोलनमा एक महिना गरी विभिन्न समयमा वीरगन्ज र काठमाडौं कारागारमा जेल जीवन बिताएका मैनाली जर्मनी, चीन, पाकिस्तान, सिंगापुर, भारत र थाइल्याण्डको विदेश भ्रमणसमेत गरेका अनुभवी नेता हुन्।





