एमाले केन्द्रीय कमिटीमा बाराबाट १४ जनाको उम्मेदवारी


eShilalekh

१ पुष २०८२, मंगलवार ११:५०

सिमरा: नेकपा एमाले केन्द्रीय कमिटीको निर्वाचनमा बाराबाट एक पदाधिकारीसहित १४ जनाले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार केन्द्रीय सचिवमा पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेल एमालेभित्र अनुभवी, शालिन, क्षमतावान नेताका रुपमा चिनिन्छ्न् । संविधानसभाका सदस्य एवम् पूर्वमन्त्री पौडेल अघिल्लो समितिमा पोलिटव्युरो सदस्य थिए ।

यसैगरी केन्द्रीय सदस्यमा अन्य दुई पोलिटव्युरो सदस्य अच्युत मैनाली र ज्वालाकुमारी साहले उम्मेदवारी दिएका छन् । मैनाली र साह विगठित प्रतिनिधिसभाका सदस्य हुन् ।

मैनाली बारा १ र साह बारा ३ बाट निर्वाचित भएका थिए । साह पूर्वमन्त्री हुन् भने मैनालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारका रुपमा काम गरेका थिए ।

यता अघिल्लो समितिमा केन्द्रीय सदस्य रहेका बलबीर चौधरी, महम्मद समीर, एकबाल मियाँले उम्मेदवारी दिएका छन् । चौधरी संविधानसभाका सदस्य, मियाँ पूर्व प्रतिनिधिसभा सदस्य र समीर प्रदेशसभा सदस्य हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छोडेर आएका पूर्वमन्त्री किसान श्रेष्ठले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।श्रेष्ठ बारा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी पूर्व श्रममन्त्री हुन् ।

युवाबाट मोबिन आलमको उम्मेदवारी परेको छ । आलम एमाले मधेश प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघका केन्द्रीय सचिव हुन् ।

मजदुर नेता आनन्द थामी र कमलेश झाले पनि उम्मेदवारी दिएका छन् । यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ्सहित दुर्गा कोइराला र सीता सुवेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

दलितबाट दशरथ रामले उम्मेदवारी दिएका छन् । यसैगरी केन्द्रीय लेखा आयोगमा टिना सुवेदी र अनुशासन आयोगमा कमला घिमिरेको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्