मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदै

सिमराः मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिदैछन्। दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री यादव गत मंसिर १९ गते नियुक्त भएका थिए। नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो । नियुक्त भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन्।
प्रदेश सरकार सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। आजको बैठकमा विश्वासको मत प्राप्त भएमा मुख्यमन्त्री यादवको सरकार औपचारिक रूपमा निरन्तरता पाउनेछ।





