यी हुन् एमाले केन्द्रीय कमिटीमा बाराका आठ अनुहार: तीन नयाँ थपिँदा, तीन जना भए बिदा

सिमरा: नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटीसहित २५/२५ सदस्यीय लेखा तथा अनुशासन आयोग चयन गरेको छ ।
महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटीमा बाराबाट आठ अनुहार निर्वाचित भएका छन् । निर्वाचितमध्ये केही अनुभवी नेता छन् भने केही नयाँ र युवा अनुहारको उपस्थिति देखिएको छ ।
केन्द्रीय कमिटीमा निर्वाचित हुनेमा अच्युत मैनाली, ज्वालाकुमारी साह र कृष्णकुमार श्रेष्ठ (किसान) प्रमुख छन् । मैनाली र साह यसअघिको केन्द्रीय कमिटीका पोलिटब्यूरो सदस्य भइसकेका अनुभवी नेता हुन् भने श्रेष्ठ केन्द्रीय कमिटीमा नयाँ तर चर्चित अनुहार हुन् ।
पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले खुल्ला केन्द्रीय सदस्यतर्फ एक हजार पाँच सय ६० मत ल्याएर निर्वाचित हुँदा मैनालीले एक हजार पाँच सय ५० मत प्राप्त गरे । मैनालीभन्दा १० मत बढी पाएका श्रेष्ठले एमाले कार्यकर्ताबाट राम्रो माया पाएको प्रतिक्रिया दिएका छन् । मधेशी महिलातर्फ साहले दुई हजार ४४ मत प्राप्त गर्दै बलियो समर्थनसहित केन्द्रीय कमिटीमा स्थान सुरक्षित गरिन् ।
मैनाली, साह र श्रेष्ठ तीनै जना विगठित प्रतिनिधिसभाका सदस्य हुन् । २०७९ सालको निर्वाचनमा मैनाली बारा क्षेत्र नं. १, साह क्षेत्र नं. ३ र श्रेष्ठ क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । साह र श्रेष्ठ पूर्वमन्त्री हुन् भने मैनाली तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकारसमेत रहिसकेका छन् ।
बाराबाट निर्वाचित अन्य पुराना अनुहारमा बलवीर चौधरी, एकबाल मियाँ र मोहम्मद समीर छन् । चौधरीले थारु खुल्लातर्फ एक हजार पाँच सय ६४, मियाँले मधेश खुल्लातर्फ एक हजार चार सय १८ र समीरले मुस्लिम खुल्लातर्फ एक हजार तीन सय ५२ मत प्राप्त गर्दै केन्द्रीय कमिटीमा पुनः स्थान बनाएका हुन् । समीर हाल मधेश प्रदेशसभा सदस्य हुन् भने मियाँ पूर्वप्रतिनिधिसभा सदस्य र चौधरी संविधानसभा सदस्य रहिसकेका अनुभवी नेता हुन् ।
यसपटक केन्द्रीय कमिटीमा दुई नयाँ युवा अनुहारले प्रवेश पाएको छ । मधेश युवातर्फ इ. मोबिन आलमले एक हजार तीन सय १६ मत र महिला खुल्लातर्फ सीता सुवेदीले एक हजार सात सय २५ मत प्राप्त गर्दै निर्वाचित भए । आलम राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा एमाले मधेश प्रदेश कमिटी सदस्य हुन् भने सुवेदी राष्ट्रिय युवा संघकी पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।
महाधिवेशनमा बाराबाट केन्द्रीय कमिटीमा १४ जना तथा लेखा र अनुशासन आयोगमा एक-एक गरी कुल १६ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये आठ जना निर्वाचित हुँदा आठ जना उम्मेदवार भने पराजित भएका छन् ।
पराजित हुनेमा केन्द्रीय सचिवका उम्मेदवार पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित चयन गुरुङ, आनन्द थामी, दुर्गा कोइराला, कमलेश झा, दशरथ राम, टिना सुवेदी र कमला घिमिरे छन् । घिमिरे अनुशासन आयोग र सुवेदी लेखा आयोग सदस्यको उम्मेदवार थिए ।
सचिवमा पराजित हुने पौडेल भने एमाले भित्रको पुराना र प्रभावशाली नेता मानिन्छन् । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका पौडेलले चार सय ६२ मत पाए । पौडेल केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमा उनले सात सय ५० मत पाए ।
यता एमाले प्रदेश कमिटी सदस्य समेत रहेकी गुरुङले आदिवासी जनजाति महिलामा सात सय ७४, थामीले आदिवासी जनजाति खुल्लामा चार सय २९, कोइरालाले मधेश महिलामा चार सय ४६, झाले मधेशी खुल्लामा सात सय सात, रामले दलित खुल्लामा चार सय ७०, सुवेदीले लेखा आयोग सदस्यमा आठ सय ४६ र घिमिरेले अनुशासन आयोग सदस्यमा एक हजार एक सय ६७ मत प्राप्त गर्दै पराजित भए ।
केन्द्रीय कमिटीमा तीन नयाँ अनुहार प्रवेश गरिरहँदा पूर्व पोलिटव्यूरो सदस्य पौडेलसहित तीन जना भने विदा भएका छन् । पौडेल सचिवमा पराजित हुँदा मञ्जु थापामगर र सरस्वतीदेवी चौधरी भने ११औं महाधिवेशनमा उम्मेदवार बनेनन् । थापामगर मधेश प्रदेशसभा सदस्य हुन् भने चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व नगरउपप्रमुख हुन् ।





