मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई सिंगो सदनको समर्थन, ९२ सांसदबाट विश्वासको मत

जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाको सिंगो सदनबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित १० वटै दलका ९२ सांसदले यादवको पक्षमा मत दिएका हुन् ।
प्रदेशसभामा रहेका सत्तापक्षीय दलसंगै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् । सत्ता बाहिर रहेका राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि विश्वासको मत दिएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता यादव सातदलीय गठबन्धन कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मंसिर २१ गते पद तथा गोपनियताको शपथ लिएका उनले सोही दिन कांग्रेस, जनमत र एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए ।
पछिल्लो पटक मंसिर २९ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई सरकारमा सहभागी गराइएको थियो । हाल मुख्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिमण्डल रहेको छ भने अझै ६ वटा मन्त्रालयले पूर्णता पाउन बाँकी छ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री यादवले संसदीय गठबन्धनबीच भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई विश्वासको मतका लागि कम्तीमा ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । साथै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एक-एक सिट रहेको छ ।





