वीरगन्जमा एचआइभी कार्यक्रमको अवस्था र चुनौतीबारे पत्रकारसँग अन्तरक्रिया


eShilalekh

६ पुष २०८२, आईतवार १३:२२

वीरगन्ज: वीरगन्जमा एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्जस्थित होटल मकालुमा आयोजित उक्त कार्यक्रममा नेपालमा एचआइभी कार्यक्रमको वर्तमान अवस्था, चुनौती तथा आगामी रणनीतिबारे छलफल गरिएको हो।

एचआइभी तथा एड्सको सङ्क्रमण रोकथामका लागि संघ सरकारको बजेट मात्र पर्याप्त नहुने भन्दै प्रदेश र स्थानीय सरकारले पनि यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। एचआइभीसम्बन्धी कार्यक्रमहरू कागजमै सीमित नभई प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जना एचआइभी सङ्क्रमित छन्। तीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्। १४ वर्ष मुनिका सङ्क्रमितको सङ्ख्या १ हजार ५८ रहेको छ भने मधेस प्रदेशमा ४ हजार ६८७ जना उपचाररत छन्।

हाल देशका ६४ जिल्लामा रहेका ९६ वटा एआरटी सेन्टरमार्फत एचआइभीसम्बन्धी सेवा प्रवाह भइरहेको उल्लेख गर्दै डा. शर्माले भारतसँग खुला सीमा जोडिएका क्षेत्रहरूमा सङ्क्रमणको जोखिम बढी रहेको बताए।

यौन रोग नियन्त्रणका कार्यक्रमहरूमा बजेट अभाव, एआरटी काउन्सिलरको कमी तथा हरेक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै जानु चुनौतीका रूपमा रहेको उनले बताए। सेवा विस्तार हुँदै गए पनि यस क्षेत्रमा सरकारी बजेट घट्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सीमा क्षेत्रहरू एचआइभीका दृष्टिले बढी संवेदनशील भएकाले यस्ता विषयमा मिडियाले निरन्तर सहकार्य र उठान गर्नुपर्ने बताए।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा र वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जिल्लास्तर र महानगरभित्र एचआइभी परीक्षण, उपचार तथा सचेतनाका क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराए।

एएचएफ नेपालका बजार तथा कार्यक्रम व्यवस्थापक राधेश्याम श्रेष्ठले एचआइभी तथा यौन रोग क्षेत्रमा ४९ देशमा कार्यरत गैरनाफामूलक संस्था एएचएफले विश्वभर करिब २६ लाख सङ्क्रमितलाई सेवा दिँदै आएको जानकारी दिए।

कार्यक्रमको उद्देश्यबारे एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले प्रकाश पारेका थिए। एएचएफ नेपालकी काउन्सिलर रोशनी सर्राफले काउन्सिलिङ तथा फिल्डस्तरका अनुभव साझा गरेकी थिइन्।

कार्यक्रममा एएचएफ नेपालका मयंक गुप्ता, राघवेन्द्र पाललगायत सरोकारवालाको उपस्थिति रहेको थियो भने सहजीकरण राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्