मौसम पूर्वानुमान: तराईमा आगामी तीन दिन हुस्सु कायम रहने

सिमराः देशभर चिसो क्रमिक रूपमा बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । विशेषगरी तराईका जिल्लाहरूमा बिहान र बेलुका लाग्ने बाक्लो हुस्सु तथा कुहिरोका कारण सडक यातायात र हवाई उडानमा समेत ठुलो असर पुगेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिन अनुसार तराई क्षेत्रमा अझै तीन दिनसम्म हुस्सु र कुहिरोको प्रभाव कायमै रहने देखिएको छ ।
यसैगरी तराई भू–भागका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम जारी रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रहरूमा मौसम तुलनात्मक रूपमा सफा रहनेछ । यद्यपि, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
यसैगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
चिसो बढ्दै गएको र बाक्लो कुहिरोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै महाशाखाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
साथै, सडक तथा हवाई यातायात प्रयोग गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न समेत सुझाव दिइएको छ ।





