पर्सामा १० लाखभन्दा बढी हुन्डीको रकमसहित तीन जना पक्राउ

वीरगन्जः पर्सा प्रहरीले श्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका ४ देवरवानाका २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका ३ गडैयाटोलस्थित सडकखण्डबाट हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट १० लाख दुई हजार १० रुपैयाँ नगद र ना.१६प ३०२० नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) अनुसार ‘हुन्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
बरामद नगद, मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





