वीरगन्जमा कर्फ्युको समय थप, साँझ ६ बजेसम्म जारी रहने


eShilalekh

२२ पुष २०८२, मंगलवार १३:२९

वीरगन्ज: वीरगन्जमा जारी कर्फ्युको समयावधि जिल्ला प्रशासन कार्यालयले दोस्रो पटक थप गरेको छ । स्थिति पूर्ण रूपमा सामान्य नभएको ठहर गर्दै प्रशासनले मङ्गलवार साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । तर, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पहिलो पटक दिउँसो १ बजेसम्म र पुनः दोस्रो पटक सूचना जारी गरी साँझ ६ बजेसम्मका लागि समय थप गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यस अवधिमा आवतजावत, भेला, जुलुस, सभा वा कुनै पनि किसिमको प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ । यद्यपि, अत्यावश्यक सेवाहरू र पूर्वनिर्धारित परीक्षाका लागि प्रवेश पत्र भएका परीक्षार्थीहरूलाई बाधा नपर्ने गरी सहजीकरण गरिने व्यवस्था मिलाइएको छ ।

यता तनाव न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति थियो ।

बैठकले वर्तमान अवस्था मूल्याङ्कन गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । सर्वपक्षीय बैठक लगत्तै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ । दुवै समुदायबीच साझा समझदारी खोज्ने र दीर्घकालीन रूपमा सद्भाव कायम राख्ने प्रयास भइरहेको प्रशासन स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्