सरस्वती पूजाका नाममा चन्दा र शुल्क नउठाउन वीरगन्ज महानगरको निर्देशन


eShilalekh

२५ पुष २०८२, शुक्रबार १३:५९

वीरगन्जः वीरगन्ज महानगरपालिकाले आगामी सरस्वती पूजाको अवसरमा विद्यालयहरूले विद्यार्थीबाट चन्दा वा शुल्क सङ्कलन गर्ने कार्यलाई तुरुन्त रोक्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले शुक्रबार एक सूचना जारी गर्दै सरस्वती पूजाको नाममा चन्दा उठाएर सांस्कृतिक कार्यक्रम वा अन्य गतिविधि गर्ने कार्य रोक्न आग्रह गरेका छन् ।

महानगरले यस्ता गतिविधि भइरहेको गुनासो प्राप्त भएको भन्दै त्यसलाई तुरुन्त बन्द गर्न आग्रह गरेको हो ।

महानगरभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूलाई सम्बोधन गर्दै जारी गरिएको सूचनामा शिक्षा ऐन तथा नियमावलीले तोकेको बाहेक कुनै पनि बहानामा शुल्क वा चन्दा उठाउन नपाइने र पूजाको नाममा पहिले नै शुल्क उठाइसकिएको भए तुरुन्त सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिइएको छ ।

महानगरले पूजासम्बन्धी कार्यक्रमहरू केवल मर्यादित, व्यवस्थित र शैक्षिक उद्देश्य अनुरूप मात्र सञ्चालन गर्न सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्