बारामा म्यादी प्रहरी भर्नाका लागि पहिलो दिनमै आवेदन दिनेको भीड


eShilalekh

२५ पुष २०८२, शुक्रबार १४:२३

सिमराः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएसँगै जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिनेहरूको भीड लागेको छ।

बारा जिल्लाका लागि कुल चार हजार ३४ जना म्यादी प्रहरीको माग गरिएपछि भर्ना हुन चाहने युवाहरूको उत्साहजनक उपस्थिति देखिएको हो। पहिलो दिन नै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनेहरूको लामो लाइन लागेको प्रहरीले जनाएको छ।

म्यादी प्रहरी भर्ना आवेदन दिने अन्तिम मिति २०८२ माघ १ गतेसम्म रहेको छ भने उमेर हद १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । सरकारले यसपटकको निर्वाचनमा देशभर कुल एक लाख ३३ हजार एक सय ८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा योजना रहेको छ ।

जिल्लाका विभिन्न मतदान केन्द्रहरूको सुरक्षा र व्यवस्थापनका लागि भर्ना गरिने यी जनशक्तिले निर्वाचनको समयमा प्रहरीको सहयोगीका रूपमा कार्य गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्