उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रममा न्यानो कपडा वितरण

वीरगन्जः पर्साको ठोरी गाउँपालिका १ भगवाननगरस्थित वृद्धाश्रममा आश्रित असहायहरूका लागि उपकार सेवा नेपालले न्यानो कपडा वितरण गरेको छ । सामाजिक सेवामा सक्रिय यस संस्थाले आश्रममा रहेका १८ जना आश्रितहरूका लागि २७ थान न्यानो कम्बल वितरण गरेकोे हो ।
बढ्दो चिसोका कारण समस्यामा परेका आश्रमका आश्रितहरूलाई राहत दिन संस्थाले कम्बल सहयोग गरेको छ । आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिहरू, सुस्त मनस्थिति भएका,वृद्ध–वृद्धा तथा बालबालिकाहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै यो सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले एक विशेष समारोहका बीच संयुक्त रूपमा उक्त कम्बलहरू आश्रमका प्रतिनिधि रामबहादुर थिङलाई हस्तान्तरण गरेका छन् ।
उपकार सेवा नेपालले यसअघि पनि उक्त आश्रमका लागि नियमित रूपमा खाद्यान्न र दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउँदै आएको छ ।
सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै सबैलाई सहयोगी हात फैलाउन आग्रह समेत गर्नुभयो ।





