सरस्वतीको छलाङ: शिक्षिकादेखी नगर प्रमुखको उम्मेदवार सम्म


eShilalekh

१७ बैशाख २०७९, शनिबार ०९:४४

सिमराः २०७४ सालको स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख पदमा नेकपा एमालेले सरस्वती देवी चौधरीको नाम अघि सार्दा धेरैले आश्चर्य मानेका थिए । शिक्षण पेशाका कारण राजनितिमा खुल्न नसकेकी चौधरीलाई थुप्रै आकांक्षीकाबीच अघि सार्ने एमालेको निर्णयले अचम्मित तुल्याउनु स्वभाविक थियो ।

पार्टीको जिल्ला कमिटी सदस्यको भूमिकामा रहेकी चौधरी शिक्षण पेशाबाहेकको समयमा राजनितिक गतिविधिमा सहभागी हुने गरेकी थिईन् । एमालेले उपमहानगरपालिकाको नगर प्रमुखमा डा. कृष्ण पौडेल र उपप्रुखमा चौधरीलाई उम्मेदवार बनाउने निर्णय लियो ।

पार्टीको निर्णयपछि चौधरी शिक्षण पेशाबाट राजिनामा दिएर निर्वाचनमा सहभागी भईन् । लामो समय जनप्रतिनिधि विहिन अवस्थामा रहेको स्थानीय तहको उक्त निर्वाचनमा उनले उत्साहजनक मतसहित जित हात पारिन् । एमाले नेता डा. पौडेल उपमहानगरपालिकाको पहिलो नगर प्रमुख बन्दा चौधरीले पहिलो उपप्रमुख बनिन् । यो उनको जिवनको पहिलो ठुलो छलाङ थियो ।

शिक्षिका पेशाबाट केही दिनमै उनि नगर उपप्रमुख पदमा निर्वाचित भईन् । थारु, मधेसी र महिलालाई प्रतिनिधित्व गर्दै उपप्रमुख बनेकी चौधरीलाई सुरुवाती केही महिना अनुभवको कमी महसुस भयो । उक्त पदको जिम्मेवारी बुझ्न उनलाई केही समय लाग्यो, तर उनले आफूलाई अभ्यस्त बनाएर छाडिन् ।

उपमहानगरपालिकाको बजेट तर्जुमा, राजश्वसंगै सबैभन्दा बढी न्यायिक समितिको महत्वपूर्ण जिम्मेवारीमा उनले काम गरिन् । संरचनाको अभावमा सुरुवाती केही दिन सानो कोठाबाट न्यायिक समितिको जिम्मेवारी सुरु गरेकी चौधरीले व्यवस्थित ईजलास बनाएर न्याय सम्पादनका काम अघि बढाईन् ।

न्यायिक समितिले उनलाई नगरबासीसंग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्रदान गर्यो । जसले गर्दा नगरमा स्थापित हुन उनलाई अझै सहज हुदै गयो । त्यसो त, कानुनले दिएको अधिकार भित्रको विषय हेर्ने न्यायिक समितिमा रहेर उनले वितेको पाँच वर्षमा कुनै विवाद खेप्नुपरेन् । न्यायिक समितिमा उनको कार्यसम्पादनलाई सबैले प्रशंसा गरे ।

न्यायिक समितिसंगै चौधरीले आफ्नो अन्य जिम्मेवारी पूरा गर्न पनि अग्रसरता देखाईन् । उनको यो अग्रसरतालाई उपमहानगरपालिकाको कार्यपालिकाभित्र अस्वभाविक ढंगले लिने गरिएको थियो । कुनै पनि विषयमा स्पष्ट अडान लिन सक्ने क्षमता भएकी चौधरी आलोचित समेत हुने गरेकी थिईन् ।

३४ सदस्यीय उपमहानगरपालिकाको कार्यपालिकाभित्र एमाले अल्पमतमा थियो । नगर प्रमुख, उपप्रमुखसहित सात वडाध्यक्ष र चार कार्यपालिका सदस्य गरेर १३ जना एमालेबाट प्रतिनिधित्व गरेका थिए । कार्यपालिकाभित्र नेकपा माओवादी केन्द्रले १० वडाध्यक्ष र चार कार्यपालिका सदस्य गरेर १४, कांग्रेसले सात वडाध्यक्ष, राजपा (हाल लोसपा) ले दुई वडाध्यक्ष सहित प्रतिनिधित्व गरेको थियो । कार्यपालिका भित्र अल्पमतमा रहेको अवस्थामा एमालेलाई काम गर्न सहज थिएन् ।

सालिन स्वभावका नगर प्रमुख डा. पौडेल कार्यपालिकाभित्र सबैलाई मिलाएर अघि बढ्ने पक्षमा थिए । तर विपक्षीको भूमिकामा रहेका अन्य दलका कारण डा. पौडेललाई सहजरुपमा अघि बढ्न सम्भव थिएन् । पहिलो नगर सभा उत्साहका साथ सम्पन्न गरेको उपमहानगरपालिकाले समेटेको योजना कार्यान्यवन हुन सकेको भए जीतपुरसिमरा देशकै उत्कृष्ट नगरको रुपमा परिचित भईसकेको हुन्थ्यो ।

तर पहिलो नगरसभाले अघि सारेको योजना पूरा हुन सकेनन् । नगर प्रमुख डा. पौडेलले समृद्ध उपमहानगरको आधारशिला खडा गर्ने लक्ष्य राखेर योजना बनाएका थिए । उनले अघि सारेको कुनै पनि योजना कार्यान्यवनमा आउन सकेन् । कार्यपालिका भित्र अल्पमत रहेपनि बहुमत जुटाएर काम गर्ने उनको प्रयास असफल हुँदै गयो ।

डा. पौडेलले अघि सारेका प्रत्येक योजना रणनिति बनाएरै तुहाउने गरिएको चर्चा हुने गरेको थियो । कार्यपालिकाको बहुमत सदस्यको सहमतीपछि मात्रै योजना कार्यान्यवनमा जाने हुँदा नगरले सुरुवातको वर्षमै सोचेजस्तो फड्को मार्न सकेन् । उत्साहित नगरबासी निराश हुदै जाँदा सम्पूर्ण अपजस नगर प्रमुख र उपप्रमुखमाथी खनिदै गयो ।

जीतपुरमा दुई सय शैयाको अस्पताल, सिमरामा टाउन हल, सिमरा र जीतुरमा बिजनेश टावर, जीतपुरमा बसपार्क, पथलैयामा ट्रकपार्क, फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्डसाईडलगायत थुप्रै योजना कागजमा मात्रै सिमित हुन पुग्यो । जग्गा तथा बजेट अभाव, योजना कार्यान्यवनमा असहयोगले पहिलो नगर सभामा समावेश ठुला योजना निर्माण हुन सकेनन् ।

अत्यन्तै कमजोर पूर्वाधार अवस्थामा रहेको समयमा नगरपालिकाबाट उपमहानगरपालिका बनाइएको जीतपुरसिमरामा विकास निर्माणका काम हुँदै नभएका होईनन् । सडक सञ्जालसंगै नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने खानेपानी विस्तार, नाला व्यवस्थापन, व्यवस्थित वडा कार्यालय, स्वास्थ्य चौधरी, शैक्षिक पूर्वाधार निर्माणका लगायत कृषीमा अनुदान, आत्मनिर्भरताका लागि दक्ष जनशक्ति उत्पादनलगायत विभिन्न कामलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढ्यो ।

उपमहानगरपालिकाको ठुलो बजेट वडास्तरबाटै खर्च हुने गरेको थियो । पहिलो वर्ष ६० लाखबाट सुरु भएको वडास्तरको बजेट अन्तिम वर्षसम्म आईपुग्दा अढाई करोडसम्म पुगेको थियो । वडाका लागि छुट्याइएका बजेटको योजना वडास्तरमा र नगरका लागि छुट्याइएका बजेट वडाध्यक्षबाट माग भएका योजनामा विनियोजन हुने गरेको थियो । नगरका लागि छुट्याइएका बजेट कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यको छलफलले बाडफाड हुने गरेको थियो ।

कार्यपालिकामा अल्पमतमा रहेका नगर प्रमुख र उपप्रमुखले आफूले चाहेको भन्दा कार्यपालिकाको सदस्यको चाहना बमोजिम बजेट विनियोजन गर्न बाध्य थिए । बजेट विनियोजनकै विषयमा कार्यपालिका बैठक समेत प्रभावित हुने गरेको थियो । अल्पमतमा रहेका नगर प्रमुख र उपप्रमुखले आफूले चाहेका योजना कार्यान्यवनमा ल्याउन नसक्दा आलोचना खेप्नुपर्यो ।

सबैलाई मिलाएर हिड्नुपर्छ भन्ने नगर प्रमुखको सोच सफल हुन नसकेपछि उपप्रमुख चौधरी फरक भूमिकामा प्रस्तुत हुन थालिन् । उनले पछिल्लो केही वर्ष नगरबासीबाट माग भएका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गर्न अग्रसरता देखाईन् । कार्यपालिका बैठकमा अडानसहित उनले कार्यपालिका सदस्य भन्दा नगरबासीको चाहनाअनुसार योजना विनियोजन गर्न थालिन् । उनको यो अग्रसरतालाई विपक्षी दलले आलोचनाको विषय बनाए ।

निडर स्वभावकी चौधरीले थुप्रै आरोप खेप्न थालिन् । नेतृत्व तहको भूमिकाका लागि अग्रसरता देखाएकी चौधरीलाई समेत असफल बनाउन सामाजिक संजाल र मिडियामा प्रचारबाजी समेत हुन थाल्यो । केही मिडिया पूर्वाग्रही ढंगले लागेको भन्दै उनले बाहिर आएको समाचारलाई प्राथमिकता दिईनन् । चौधरीले नगरबासीको योजना कार्यान्यवनमा अग्रसरता देखाईन् र उनि सफल हुदै गईन् ।

पाँच वर्षको कार्यकाल पूरा गर्दैगर्दा विभिन्न अनुभव बटुलेकी चौधरीलाई पछिल्लो ६ महिनादेखी नगर प्रमुखको उम्मेदवारका रुपमा चर्चा गरिन थाल्यो । यसबीचमा चौधरी नेकपा एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भईन् । उनले बारा जिल्लाको सहईन्चार्जको जिम्मेवारी समेत प्राप्त गरिन् । जिल्ला कमिटी सदस्यबाट एकैचोटी केन्द्रीय सदस्यमा निर्वाचत हुनु चौधरीको दोस्रो ठुलो छलाङ थियो ।

एमालेको केन्द्रीय तहमा राम्रो छवी बनाउन सकेकी चौधरीलाई स्थानीय स्तरमा नगर प्रमुखको बलियो उम्मेदवारका रुपमा चर्चा गरिदै आयो । संस्थापक नगर प्रमुखको रुपमा निर्वाचित डा. पौडेलले दोहोर्‍याउन आकांक्षा नदेखाउदा चौधरीसहित अन्य ९ जनाले दावी प्रस्तुत गरे । तर एमालेले चौधरीलाई प्रमुख पदको रुपमा उभ्यायो । उनलाई प्रमुख बनाउदा दुई पटक पिप्रासिमरा गाविसको अध्यक्ष भएका भोलाप्रसाद अधिकारीलाई उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गर्यो । नगर प्रमुखको उम्मेदवार बनाउने एमालेको निर्णय उनको जीवनको अर्को ठुलो छलाङ हो ।

पाँच वर्षमै शिक्षिकाबाट नगर प्रमुखको उम्मेदवार बन्ने क्रममा उनले देखाएको अग्रसरता, कार्यसम्पादनको समेत चर्चा हुने गरेको छ । एमालेले महिलालाई नेतृत्वमा अघि सारेको भन्दै स्थानिय स्तरमा चर्चा हुन थालेको छ । मधेसी, महिला, थारु समुदायले समेत एमालेको निर्णयलाई स्वागत गरेका छन् ।

मधेस प्रदेशको एक महानगर र तीन उपमहानगरमध्ये प्रमुख पदमा उम्मेदवारी दिने चौधरी पहिलो महिला हुन् । वीरगन्ज महानगर, कलैया र जनकपुर उपमहानगरमा प्रमुख पदको उम्मेदवार पुरुष छन् । जीतपुरसिमर नगर प्रमुखमा निर्वाचित भईन् भने चौधरीले अर्को ईतिहास रच्नेछिन् र त्यो उनको जिवनको सबैभन्दा ठुलो छलाङ हुनेछ ।

मलाई बदनाम गर्ने प्रयास हुदैछः चौधरी
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार सरस्वतीदेवी चौधरीले आफूले पाँच वर्षमा प्राप्त गरेको जनमत र विश्वास धमिल्याउनका लागि केही संचारकर्मी सुनियोजित ढंगले परिचालित भएर लागेको बताएकी छिन् ।

निष्पक्ष प्रतिस्पर्धाका लागि चुनावी अभियानमा लागिरहेका बेला केही संचारकर्मीले पत्रकार आचारसंहिता विपरित आफ्नो चरित्र हत्या गर्न खोजेको चौधरीले बताईन् । नगर उपप्रमुखको जिम्मेवारीमा रहेर गरेका राम्रा कामका समाचार लेख्दै नलेख्ने केही संचारकर्मी अहिले आधारहिन समाचार लेखेर नगरबासीलाई भ्रमित पार्न सक्रिय रहेको चौधरीको भनाई छ ।

‘पाँच वर्षमा के कस्तो राम्रो काम भयो भने कहिल्यै सोध्न आउनुभएन् । खोजी गरेर पनि लेख्नुभएन’ चाैधरीले भनिन् ‘चुनावको मुखैमा आधारहिन विषयमा नाम जोडेर समाचार आईरहेको छ । यो नगरबासीलाई भ्रमित पार्न गरिएको षडयन्त्र भनेर मैले बुझेको छु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको उजुरी परेको संख्यालाई भष्ट्राचार गरेको प्रमाणित भएजसरी जनतालाई भ्रमित पार्ने घृणित खेल भईरहेको चौधरीले बताईन् । उनले कानुन विपरित कार्य गर्न कसैलाई छुट नभएको भन्दै चौधरीले अनावश्यक भ्रम फैलाउन कार्य तत्काल रोक्न माग गरिन् ।

‘अख्तियारमा उजुरी संख्या बढी देखिएको हो । यसमा भष्ट्राचार भएको भनेर हल्ला फैलाउने काम भईरहेको छ’ चौधरीले भनिन् ‘उजुरी भनेको जो कोहीले पनि हाल्न सक्छ । त्यो संख्यालाई भष्ट्राचार भन्न मिल्दैन् । भष्ट्राचार भएको प्रमाणित हुन्थ्यो भने नेपालको कानुन अनुसार उम्मेदवार बन्न पाउने स्थिती हुन्थेन । यो कुरा सबैले बुझ्न जरुरी छ । भ्रम फैलाउने काम रोकियोस् ।’

अख्तियारमा परेको उजुरीलाई भष्ट्राचार भनेर प्रचार गर्नेलाई उनले उक्त कुरा पुष्टि गर्न चुनौती दिएकी छिन् । अख्तियारमा परेको उजुरी कानुनी प्रक्रियाअनुसार छानविन र फस्र्यौट हुने काम भईरहेको भन्दै चौधरीले पूर्वाग्रही ढंगले समाचार लेखेर चरित्र गर्ने अधिकार कसैसंग नरहेको बताईन् ।

गलत प्रचार गरेर जनमत आफ्नो पक्षमा पार्ने विपक्षीको रणनितिलाई नगरबासीले बुझ्ने भन्दै चौधरीले एमालेप्रतिको जनलहर र पाँच वर्षको आफ्नो कार्यसम्पादनले जनस्तरमा छुट्टै उत्साह देखिएपछि आफू विरुद्ध षडयन्त्र भईरहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्