सिम्रौनगढ नगरपालिकाको सेवा अनिश्चितकालका लागि ठप्प

सिमराः बाराको सिम्रौनगढ नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह अनिश्चितकालका लागि ठप्प भएको छ । उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत विरबहादुर साह लहेरामाथि कार्यकक्षमै अभद्र व्यवहार तथा हातपात गरेको आरोपपछि नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प भएको हो ।
सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सिम्रौनगढ नगरपालिकाका कर्मचारी परिवारले कार्यालय परिसरभित्रै भएको घटनाको घोर भर्त्सना गर्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म कामकाजमा नखटिने घोषणा गरेका छन् ।
कर्मचारी परिवारका अनुसार विशेष नगरसभासम्बन्धी विषयमा उत्पन्न विवादका क्रममा उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि जोरजबरदस्ती, गालीगलौज तथा दुव्र्यवहार गरेकी थिइन् ।
घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको गरिमा, मर्यादा र सुरक्षामाथि गम्भीर आघात पुगेको उनीहरूको ठहर छ ।
घटनापछि कर्मचारीहरूले आफ्नो सुरक्षा र सम्मान सुनिश्चित नहुन्जेलसम्म नगरपालिकाका सम्पूर्ण शाखा तथा मातहतका कार्यालयहरूको सेवा स्थगित गरेका छन् ।
विज्ञप्तिअनुसार शिक्षण संस्था तथा अत्यावश्यक सेवा बाहेकका सबै कामकाज अर्को आदेश नभएसम्म अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कर्मचारी परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
नगरपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राहीहरूलाई परेको असुविधाप्रति कर्मचारी परिवारले क्षमायाचना गर्दै समस्या समाधानका लागि शीघ्र पहल गर्न आग्रह गरेको छ ।






