पिलुवा–कलैया सडकखण्डबाट दुई सय चार केजी गाँजासहित चालक पक्राउ


eShilalekh

२९ पुष २०८२, मंगलवार १६:२९

सिमराः प्रहरीले बाराको पिलुवा–कलैया सडकखण्डस्थित बडहर्वाबाट मंगलबार दुई सय चार केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ६ का २४ वर्षीय निशानबहादुर सेन्चुरी रहेका छन् ।

मनहरीबाट कलैयातर्फ जाँदै गरेको बिएसी २३४३ नम्बरको भारतीय नम्बरको पिकअप जिप जाँच गर्ने क्रममा प्रहरीले जीतपुरसिमरा १८ स्थित सडकबाट दुई सय चार केजी गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरीक्षक निलप्रसाद मैनाली र अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी बरिष्ठ हवल्दार अनवर हुसेनको नेतृत्वमा रहेको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

जिपमा फल्स बटम बनाई २० वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजासहित चालक सेन्चुरीलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्